१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मर्यादाक्रममा तल पारिएको भन्दै निर्वाचन आयोगका पदाधिकारीको असन्तुष्टि

५ माघ, काठमाडाैँ । निर्वाचन आयोगले नेपाल सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न महानुभावहरूको नयाँ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको शुक्रबारको बैठकले संवैधानिक निकायका पदाधिकारीलाई सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने ठहर गरेको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।”

संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नु पर्नेमा सरकारले हालै निर्धारण गरेको मर्यादाक्रममा उपरोक्त आधारहरू र मापदण्डलाई वेवास्ता गरेकोप्रति अन्य निकायबाट समेत असन्तुष्टि व्यक्त भएको आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : January 19, 2019 at 5:51 pm