वेरोजगारका लागि रोजगारी दिन स्थानीय तहमा रोजगार संयोजक राख्ने प्रक्रिया सुरु
३ माघ, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वेरोजगारका लागि रोजगारी दिन स्थानीय तहमा रोजगार संयोजक राख्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि शुक्रबारदेखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्न लागेको हो ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार दरखास्तका लागि सार्वजनिक सूचना जारी गर्न लागेको जनाएको छ ।
मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले बताए । उनले १ वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरी पहिलो चरणमा दरखास्त आब्हानको सूचना प्रकाशित गरिने बताए ।

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी(नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधारमा काम गरिरहेका मन्त्री गोकर्ण विष्टले यसपटक रोजगार संयोजक छान्दा सबैभन्दा बढी पारदर्शीताको अभ्यास गराउन लागेका छन ।
मन्त्री विष्टले रोजगार संयोजक छनौट तीन चरणमा गर्ने र सबै चरण कम्युटर प्रणालीबाट गर्ने गरी मापदण्ड नै बनाइ मन्त्रिपरिषदबाट स्वीकृत गराएका छन । जसमा न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20:56









