२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

टुटल र पठाओविरूद्धको प्रहरी कारबाही तत्काल रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनचासोको विषयको महत्वपूर्ण विषयमा २४ घण्टा भित्रै सम्बोधन गरेका छन । टुटल र पठाओलाई चल्न नदिनका निम्ति ट्याक्सी व्यवसायीको प्रभावमा प्रहरीले कारबाही थालेपछि प्रधानमन्त्री ओलीले तत्काल त्यस्तो कारबाही रोक्न निर्देशन दिएका छन ।

बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाइ तत्काल कारबाही रोक्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले ‘मोटरसाइकलमा पछाडि बसेर,साथी हिँड्यो कि श्रीमती हिँड्यो कि भाइ हिँड्यो कि को हिँड्यो । अब हरेकलाई रोकेर सोध्न थालेपछि मान्छे गन्तव्यमा पुग्दैन । रिसाउन थाल्छ’, उनले भने, ‘त्यस्ता खालका कुरामा सरसल्लाहबिना फ्याट फ्याट आदेश, निर्देशनहरुतिर नजाउँ । यो कहाँ कहाँबाट भएको छ, तुरुन्तै साथीहरूले चाँहि स्टप गर्नुहोस अहिले । जे व्यवस्था गर्नुपर्छ पछाडि गरौँला । तत् सम्बन्धमा कानुन हुनपर्यो, व्यवस्था हुनुपर्यो ।’

प्रधानमन्त्री ओलीले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै कारबाही रोक्न निर्देशन दिएका हुन । सरकार आफैँ प्रविधिमैत्री बन्ने बाटोमा गइरहेको अवस्थामा यो अस्वभाविक भएको भन्दै प्रधानमन्त्री  ओलीले कानुन बनाएर बिधि बसाल्नुपर्नेमा जोड दिएका छन । सामाजिक सञ्चालमा प्रहरी कारबाहीको विषयलाइ लिएर तीब्र असन्तुषटि व्यक्त भएको थियो ।

प्रकाशित मिति : 00:21