२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

विदेशमा सम्पत्ति लुकाउनेमा नविन्द्र जोशी पनि

२ माघ, काठमाडाैँ । व्यावसायिक क्षेत्रमा खासै नाम नसुनिएका नेपालीहरूले समेत विदेशमा लगानी गरेको भेटिएको छ । खोज पत्रकारिता केन्द्रले बुधबार सार्वजनिक गरेको खोज रिपोर्टमा गुमनाम देखिएकाहरूले पनि विदेशमा लगानी गरेको पाइएको छ ।

त्यसको उदाहरण हो नवाङ डोल्मा । जोरपाटी–२ ठेगाना उल्लेख डोल्माले सन् २०१२ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फिक्स युनियन होल्डिङ्स लिमिटेड र गोल्डेन सिम्बल इन्टरनेशनल लिमिटेड कम्पनी दर्ता गरेकी हुन् । त्यस्तै अर्को नाम हो उमादेवी सिंघानिया । उनका नाममा सन् १९९८ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा सिल्भर ट्रि लिमिटेड कम्पनी दर्ता छ ।

खासै नसुनिएको अर्को नाम हो रिनुका प्रधान । चुनदेवी, ४ काठमाडौं ठेगाना उल्लेख गरी प्रधानले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा रेस्ट पार्क क्यापिटल इन्क कम्पनी दर्ता गरेकी हुन् । यो कम्पनीमा अन्य दुुई नेपालीको पनि लगानी छ । नेपाली ठेगाना थाहा नभएका पुुनम प्रधान र अजयप्रसाद प्रधानले रेस्ट पार्क कम्पनीमा लगानी गरेका छन् । आईसीआईजेको विवरणमा उनीहरूको ठेगाना सिंगापुर मात्रै उल्लेख छ ।

नेपाली व्यावसायिक जगतमा नसुनिएको अर्को नाम हो विमलकाजी ताम्राकार । ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनले हिमालयन इन्भेष्टमेन्ट ग्रुप र वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नाम गरेका कम्पनीमा लगानी गरेका छन् । आईसीआईजेका अनुसार, उनले २००२ र २००३ मा यी दुुई कम्पनी दर्ता गरेका हुन् । हिमालयन इन्भेष्टमेन्ट ग्रुपमा विमलकाजीसहित विश्ववरसिंह थापा, नवीन्द्र जोशी, विश्वधर तुलाधरको लगानी रहेको देखिन्छ ।

सिद्धिभवन कान्तिपथ ठेगाना उल्लेख गर्ने ताम्राकारको वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालिमा अन्य नेपालीको समेत लगानी छ । नेपाली नागरिक विजेन्द्र जोशी, अरुण श्रेष्ठ, तुलाधर र नवीन्द्रको यसमा लगानी रहेको आईसीआईजेले जनाएको छ । नेपाली नागरिकको लगानी रहेको ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता गरेकै नाम वल्र्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नेपालमा पनि दर्ता भएको भेटियो । २०५१ चैतमा नेपालमा दर्ता भएको यो कम्पनीका शेयर होल्डर पनि उनै छन् । आईसीआईजेले सन् २०१३ अप्रिलमा सार्वजनिक गरेको ‘अफसोर लिक्स’ मा वल्र्ड डिष्ट्रिव्युशन नेपाल प्रालिका लगानीकर्ता अरुण श्रेष्ठ र नवीन्द्र जोशीको राष्ट्रियता खुल्न नसकेको उल्लेख थियो । तर, नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सोही नाममा दर्ता भएको कम्पनीका शेयर सदस्यहरूको सूचीमा उनीहरूकै नाम भेटिएपछि उनीहरू नेपाली भएको पुष्टि हुन्छ ।

अरुणकी श्रीमती कलिनाले पनि यो पुष्टि गरिन् । “यो हाम्रो आइटीसँग सम्बन्धित कम्पनी हो । ब्रिटिश भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता भए/नभएको श्रीमान्लाई थाहा छ, उनले भनिन्, “म तपाईंको कुरा श्रीमान्लाई भनेर फोन गर्न लगाउँछु ।” तर, अरुण सम्पर्कमा आएनन् ।

चर्चामा नरहेको अर्को नाम हो विनु श्रेष्ठ । आईसीआईजेका अनुसार, उनले पनि सन् २००५ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा वेलउड एकज लिमिटेड कम्पनी दर्ता गरेका छन् । आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा नेपाली नागरिक किशोर रानाको नाम पनि थियो । इचंगु काठमाडौं ठेगाना उल्लेख रानाले ट्याक्स हेवन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पूरै शेयर उनको नाममा छ । काठमाडौं–३ ठेगाना उल्लेख गरेका निर्मल श्रेष्ठले पनि ट्याक्स हेवन मुलुक माल्टामा सन् २००९ मा केआरवी ग्रुप अफ कम्पनीमा लगानी गरेको विवरण फेला परेको छ ।

नेपाली व्यावसायिक क्षेत्रमा खासै नचिनिएका श्याममिलन श्रेष्ठको पनि ब्रिटिश भर्जिन आइल्यान्डस्मा दुुई कम्पनीमा लगानी छ । सोनेट वल्र्ड वाइड लिमिटेड र आईलिंकेज इन्टरनेशनल लिमिटेडमा उनको लगानी रहेको भेटिएको छ । सोनेट वल्र्ड वाइडमा श्याममिलनसहित सात जनाको लगानी देखिन्छ । नेपाली हुनसक्ने नाम थर भएका अन्य दुुई आशिष रौनियार र चिम्पाल रौनियारको पनि सोनेटमा लगानी छ । तर उनीहरूको ठेगाना उल्लेख छैन । अर्को कम्पनी आईलिंकेजमा पनि यिनै दुुई, श्याममिलन र अर्का नेपाली खुश्बु सरकारको लगानी रहेको आईसीआईजेको विवरणमा उल्लेख छ ।

हाम्रो टेलिफोन सम्पर्कमा आएका श्यामिलनले खुश्बु सरकार श्रेष्ठलाई चिनेको बताए । “उहाँसँग मिलेर हङकङमा १४/१५ वर्ष अगाडि ‘जिरो एकाउण्ट’ को कम्पनी खोलेको हो । अहिले त्यसको अस्तित्व समाप्त भइसक्यो” श्रेष्ठले भने, “केही काम लाग्छ कि भनेर खोलेका थियौं ।” श्रेष्ठको यो प्रतिक्रिया पछि हामीले हङकङको कर्पोरेट रजिष्ट्रिजको विवरण हे¥यौं । कर्पोरेट रजिष्ट्रिजका अनुसार, सोेनेट इन्टरनेशनल नामको कुनै कम्पनी हङकङमा दर्ता छैन । कर्पोरेट रजिष्ट्रिजको दस्तावेज अनुसार आइलिंकेज इन्टरनेशनल लिमिटेड दर्ता छ । तर, त्यसका लगानीकर्ता दुई मलेशियन नागरिक हुन् श्याममिलन हैनन् ।

खुश्बु सरकारले २००१ मा स्टार्ट अप कम्पनीको लागि दर्ता गरेको बताए । “त्यो हङकङमा दर्ता थियो । हङकङका साथीहरूले कर प्रयोजनका लागि ब्रिटिश भर्जिन आइल्याण्ड्समा राखेका रैछन्” उनले भने, “त्यो कम्पनी काम लागेन, तीन महीनामा बन्द भयो ।” उनीसँगै नाम जोडिएका श्याममिलन श्रेष्ठ, आशिष रौनियार, चिनपाल रौनियारको लगानी रहेको उनले बताए । नेपालीले विदेशमा लगानी गर्न पाइँदैन नि भन्ने प्रश्नमा उनले भने “२००१ मा हामीलाई विदेशमा कम्पनी दर्ता गर्नुहुन्न भन्ने थाहा थिएन ।”

ब्रिटिश भर्जिन आइल्यान्डस्मा लगानी गर्नेहरू अरू पनि छन् । एम्कोडोर अर्थ मुभिङ इक्विपमेन्ट इन्डिया प्रालि र महेश्वर सफ्टेक प्रालिमा पनि नेपाली नागरिकहरूको लगानी देखिन्छ । काठमाडौं महाराजगञ्ज ठेगाना रहेका योगेशलाल श्रेष्ठ र मेनुका श्रेष्ठले यी कम्पनीमा लगानी गरेका हुन् । योगशलाल र अर्का नेपाली राजनलाल श्रेष्ठको नाममा अर्को कम्पनी छ– महेश्वर सप्लायर्स कम्पनी । सन् २०१७ को आईसीआईजेको प्याराडाइज पेपर्स लिक्सले विकास सिन्हाको नाम पनि सार्वजनिक गरेको थियो । सिन्हाको जन्मस्थान नेपाल हो, विदेशमा कम्पनी खोल्न उनले नेपाली राहदानी प्रयोग गरेका छन् । ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनको युनाइटेड स्पिरिटस् लिमिटेड कम्पनीमा लगानी रहेको भेटियो । यसले नेपालको चर्चित मदिरा कम्पनी युनाइटेड स्पिरिटस्मा ट्याक्स हेवन मुलुकमार्फत लगानी ल्याएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सहयोगमा हाल यो कम्पनी नेपालबाट बाहिरिइसकेको छ । खोजपत्रकारिता केन्द्रबाट साभार

प्रकाशित मिति : 22:07