२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अनेरास्ववियुका नेता कमल जोशीको हत्या प्रयासका आरोपी खेमबहादुर सिंह पक्राउ

१ माघ, काठमाडौँ । अनेरास्ववियु अस्कलका अध्यक्ष कमल जोशी माथि आक्रमण गर्ने खेमबहादुर सिंह पक्राउ परेका छन । महानगरीय प्रहरी वृत सोह्रखुट्टेले सिंहलाइ मंगलबार साँझ पक्राउ गरेको हो । अनेरास्ववियुले जोशी माथि ज्यान लिने उद्देश्यले आक्रमण गर्नेलाइ पक्राउ गरी कारबाही नगरे आफैँ गर्ने चेतावनी दिएपछि प्रहरीले मंगलबार सिंहलाइ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर सोह्रखुट्टेका प्रमुख गौतमकुमार केसीले दैनिकीसँग कुरा गर्दै सिंह पक्राउ परेको पुष्टि गरे । उनले सिंहलाइ हिरासतमा राखेर थप अनुसन्धान भैरहेको भन्दै घटनामा संलग्न अन्यको पनि खोजी भैरहेको जानकारी दिए ।

जोशीले जिल्ला अदालत काठमाडौँमा आफ्नो हत्या गर्ने उद्देश्यले आफू माथि आक्रमण भएको भन्दै मुद्दा दर्ता गरेपछि अदालतको वारेण्टका आधारमा प्रहरीले पक्राउ गरेको बताएका छन । उनले ज्यान लिने उद्देश्यले सिंहसहित चार जनाको समूहले आक्रमण गरेको बताएका छन ।

जोशीमाथि शुक्रबार ठमेलस्थित अस्कल क्याम्पस हाताभित्रै आक्रमण भएको थियो । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका जोशीको ठमेलको मनमोहन अस्पतालमा उपचार भएको छ । जोशीको टाउकोमा नौ टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।


घाइते जाेशीले  खेमबहादुर सिंहकाे नेतृत्वमा आफूलाई आक्रमण गरेको बताएका थिए । जाेशीले आक्रमणमा जीवन पाण्डे, विजय विष्ट र सञ्जन रिमाल समेत सहभागी भएकाे बताए । सिंहकाे काेठाबाट केही साता अघिमात्रै पेस्तोलसहित एक युवा पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले छापा मारी कालीकाेटका एक युवालाई पक्राउ गरेकाे थियाे ।

(यसअघि गलत तस्बीर परेकाले सच्याइएको छ ।–सम्पादक)

प्रकाशित मिति : 21:25