१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मेरै कार्यकालमा राष्ट्रपति सि चिनफिङलाई नेपाल भ्रमण गराउँछुः चिनियाँ राजदूत हाउ यानकी

३० पुस, काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले भेटवार्ता भएकाे छ
सिंहदरबारस्थित कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई दिए ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताए । ‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’ उनले भने, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं ।’

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राखेकाे बताए । ‘दुई देशबीच रेलमार्ग विकास गर्ने योजनामा चीनको साथ र तत्परताको प्रशंसा गर्दछु,’ उहाँले भन्नुभयो, ‘केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग, आर्थिक रुपले निकै महत्वपूर्ण कोरला नाका लगायत अन्य थुप्रै नाका छिट्टै खुल्नेमा आशावादी छौं ।’

नेपालको संघीय संसदमा प्रतिनिधिसभाका सदस्य सुभाषचन्द्र नेम्बाङको संयोजकत्वमा नेपाल–चीन मैत्री समूह गठन भएको जानकारी गराउँदै उनले यसले दुई देशका संसदबीचको सम्बन्ध तथा अभ्यासलाई मजबुद बनाउने विश्वास व्यक्त गरे । भेटमा नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगढ हुने विश्वास व्यक्त गरिन् ।

उनले वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को उद्देश्य चीनसँगै छिमेकी राष्ट्रको विकासमा केन्द्रीत रहेको उल्लेख गर्दै नेपाल यसको महत्वपूर्ण साझेदार मुलुक भएकाले यसबाट अधिकतम फाइदा लिनुपर्नेमा जोड दिइन् । ‘बीआरआई दिर्घकालिन सहकार्य हो । यसमा सहकार्य गर्दा साना र सजिला परियोजनाबाट कार्यक्रमको सुरुवात गर्नुपर्छ,’ उनले भनिन्, ‘नेपालमा रेलमार्ग, उत्तरी सिमा नाका खोल्न चीन सकारात्मक छ । यसले दुई देशबीचका आर्थिक गतिविधि बढाउँछ ।’ उनले आफ्नो कार्यकालमा चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका लागि कूटनीतिक पहल गर्ने समेत बताइन् ।

प्रकाशित मिति : January 14, 2019 at 10:36 pm