१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

घ्याङफेदी दुर्घटनामा मृत्यु भएका परिवारलाई नुवाकोट कांग्रेसको प्रति परिवार पाँच हजार राहत

–रामहरि न्याैपाने

३० पुस, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप नेपाली काङ्ग्रेस नुवाकोटले सङ्कलन गरेको राहत रकम आज उपलब्ध गराएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई घरमा नै पुगेर काङ्ग्रेस जिल्ला सदस्य शशीसागर पण्डितले पीडित परिवारलाई रु पाँच हजारको दरले रु एक लाख दश हजार प्रदान गर्नुभयो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम उपलब्ध गराएको पण्डितले बताउनुभयो । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाउँपालिकाले रु २५ हजारका दरले राहत रकम प्रदान गरेको थियो ।

दुप्चेश्वर गाँउपालिकाको अपिलअनुसार नुवाकोटको ककनी गाउँपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले रु ५० हजार र काठमाडौँको टङ्केश्वर हार्डवेयर जरङ्खुका तर्फबाट व्यवसायी हेम गौतमले रु ६० हजार रकम उपलब्ध गराउनुभएको थियो ।

गत मङ्सिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारका लागी लैजाँदै गर्दा तथा उपचारका क्रममा गरी २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ । पीडित परिवारलाई यहाँका विभिन्न गाउँपालिका, व्यवसायी तथा समाजसेवीले पनि सहयोग पु¥याउने क्रम जारी रहेको छ । रासस

 

प्रकाशित मिति : January 14, 2019 at 9:30 pm