नुवाकोटको दुप्चेश्वरमा बालक्लबको पहलमा बालविवाह रद्द
–रामहरि न्यौपाने
३० पुस, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा गत साता भएको बालविवाह यहाँको बालक्लबको पहलमा आज रद्द भएको छ ।
घ्याङफेदी माविमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपाण्डा बाल क्लबको पहलमा बालविवाह बदर भएको हो । क्बलका अध्यक्ष राजु तामाङका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ७ का १५ वर्षीय छात्र र कक्षा ८ मा अध्ययनरत १७ वर्षीया छात्राबीच भागेर गरेको विवाह रद्द गराइएको हो । “भागेर विवाह गरेका उनीहरुलाई परिवारको साथमा केटा पक्षले घरमा भित्र्याएको थियो,” तामाङले भन्नुभयो, “क्लबका पदाधिकारी र विद्यालयका शिक्षकको पहलमा अभिभावकलाई सम्झाएपछि उनीहरुलाई छुट्टी–भिन्न गराइएको छ ।”

विवाहपश्चात् विद्यालय आउन छाडेपछि उनीहरुले विवाह गरेको सूचनाका आधारमा लगातार एक साताको प्रयासमा क्लबमा आबद्ध विद्यार्थीले नै विवाह रद्द गराइदिएका हुन् । विवाह रद्द भएसँगै उनीहरु अध्ययनका लागि आ–आफ्नो घरबाट विद्यालयसमेत आउन शुरु गरेको घ्याङफेदी माविका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिनुभयो । “विद्यार्थी र शिक्षकले अभिभावकसहित केटाकेटीलाई कानूनी रुपमा उमेर नपुगी विवाह गर्नु दण्डनीय हुने भनेर सम्झायौँ,” स्याङताङले भन्नुभयो । रासस
प्रकाशित मिति : January 14, 2019 at 9:21 pm









