स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नु अघिनै कसरी पुग्छ कांग्रेस नेताको घरघरमा ?
३० पुस, काठमाडौँ । स्वास्थ्य मन्त्रालय करिब नेपाली कांग्रेसको भ्रातृ संस्था जस्तो बनेको स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुग्नु अघि नै नेपाली कांग्रेसका नेताको घरघरमा पुग्ने गरेको पाइएको छ । यसअघि मुख्य सचिव लोकदर्शन रेग्मीले नै वुढानिलकण्ठ र सानेपाको कांग्रेस कार्यालयमा सूचना पुर्याउने गरेको आरोप लागेको थियो ।
मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव निर्णय हुनु अगावै नेपाली कांग्रेसले उक्ता सूचना पाएर सोमबार आकस्मिक पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको छ । नेपाली कांग्रेसले आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाएको हो ।

तनहुँको बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारी आएको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका हुन । उनले स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको भन्दै आपत्ति जनाए ।
उनले भोलिसम्म प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको र त्यसपछि आन्दोलन गर्ने संकेत दिए । प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधिन अवस्थामै रहेको अवस्थामा कांग्रेसलाइ उत्तेजित र आन्दोलित बनाउन मन्त्रालयका कर्मचारीले सूचना कांग्रेस नेताको घरघरमा पुर्याएको अनुमान गरिएको छ । त्यसो त मुख्यसचिव माथि पनि मन्त्रीहरूले शंकाको नजरले हेर्दै आएका छन ।
प्रकाशित मिति : January 14, 2019 at 7:21 pm









