अनेरास्ववियुको अध्यक्षका दाबेदार प्रकाश पाैडेलको यस्तो छ सांगठनिक विगत
२६ जेठ, काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन जारी छ । नेतृत्वमा सर्वसम्मतिको प्रयास भए पनि अन्तिममा प्रकाश पौडेल र दीपक धामीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ३२ वर्ष उमेर हद नलाग्दा महासचिव वा सचिवमा चित्त बुझाउने परिस्थितिका नेताहरू अहिले अध्यक्षको दाबेदारीसहित मैदानमा छन ।
अध्यक्षमा सचिवहरू मध्येबाट प्रकाश पौडेल र दीपक धामीले सशस्त्र दाबी पेश गरेका छन भने केही पूर्व अध्यक्षको आडमा डा सुजन कडरियाले पनि दाबी पेश गरेका छन । उनले सहमति नभएको खण्डमा प्रकाश पौडेललाई साथ दिने सम्भावना रहेको छ । अनेरास्ववियुको अधिकांश पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्ष र महसचिव दुबै प्रकाशको पक्षमा उभिएका छन । पार्टी नेतृत्वले उम्मेदवार नियुक्त नगरेका कारण स्वच्छ प्रतिस्पर्धा भए अनेरास्ववियुको आगामी नेतृत्वमा प्रकाशको सम्भावना बलियो देखिन्छ । महासचिवमा रोमसकुमार खतिवडा (आरके रोमस) र मदन भण्डारीको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । हामीले यहाँ अध्यक्षका दाबेदार प्रकाश पौडेलको संगठिन विगत कोट्याउने प्रयास गरेका छौँ ।
संगठनमा प्रकाशको सङघर्ष
स्कुले जीवनमा नै अखिलको जिल्ला कमिटीमा प्रबेश गरिसकेकोले पार्टीमा प्रकाशको परिचय बनिसकेको थियो । कलामा पनि पोख्त थिए प्रकाश त्यसैले २०६४ को निर्बाचनमा जिल्लाभर कलाकारको रुपमा उनले भूमिका खेलेर आफ्नो बलियो स्थान बनाए।
शब्द शब्दमा उर्जा देखिने प्रकाशका गीतहरुले बस्तिहरुका आवाज बोल्दथे र आवाजविहीनलाई पनि आवाज उठाउन प्रोत्साहन गर्दथे । कलिलो स्वरमा गाइएका क्रान्तीकारी शब्दहरुले बस्तिहरू नै भावुक हुन्थे र जुझारू मुठी उठथे । ११/१२ कक्षा अध्ययन गर्दैगर्दा प्रकाश अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । सङठनले दिएको जुनसुकै जिम्मेवारी फत्ते गर्ने बानिले उनलाई रकेट लिडरको रुपमा उभ्याइरहेको थियो । सङ्ठन विस्तार गर्न गाउँ पसेपछि उनी अनेरास्ववियुसँगै पार्टीमा पनि प्रभावकारी बन्दै गए ।
स्कुले जीवनमै हुँदा पोखरा महाधिवेशनमा पनि उनी प्रतिनिधि छनोट भएका थिए तर परीक्षका कारण उनले त्यस समयको महाधिवेशनमा भाग लिन पाएनन् । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा भने प्रकाश म्याग्दीबाट निर्वाचित भएरै प्रतिनिधि बनेर सहभागी भए । त्यसपछि सङ्ठनमा उनले थप कठोर समयको सामना गर्नुपर्यो।
म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरुको नेतृत्व प्रकाश पौडेलले गरेका छन । त्यसमध्ये बाहिरका ट्युसन इन्सिच्युट बन्द गरेर कलेजमा सुलभ दरमा कोचिङ्ग पढाउने आन्दोलनले चर्को रुप लिएको थियो । प्राध्यापकहरू कलेजमा थुनिने परिस्थिति बनेको अवस्थामा विद्यार्थीको माग र परिस्थिति अनुरुप क्याम्पस भित्रै सुलभ अतिरिक्त कक्षा संचालन गर्ने सम्झौतासंगै त्यो आन्दोलन अन्त्य भएको थियो । त्यसैको जगमा आजपनि म्याग्दी क्याम्पसमा सहज र सुलभ अतिरिक्त कक्षा सञ्चालन भैरहेको छ ।
१८ बर्षकै हुँदा उनले २०६९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्षमा चहना राखेका प्रकाश गुटबन्दीको मारमा परेर कमिटीबाहिर बन्न पुगे । यद्यपी उनले अाफ्नो प्रयत्न जारी राखे र २०७१ सालमा २० वर्षको उमेरमा अनेरास्ववियु म्याग्दीको अध्यक्षमा निर्वाचित भए । उनले म्याग्दीको जिल्ला अध्यक्ष भएर काम गर्दा अनेरास्ववियुको देशभरका कमिटीहरूमा सर्वोत्कृष्ट बनाउँदै पुरस्कृत गराए ।
म्याग्दीको जनकल्याण मावि पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष, म्याग्दी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र जिल्ला अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश अध्यक्ष हुँदै २०७९ अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए प्रकाश । उनी संगठनको प्रवक्ता समेत हुन् ।
प्रकाश भन्छन् ‘तल्लो कमिटीदेखि निरन्तर क्रियाशिल छु, उमेरहदबारे पहिलोपटक २१ वर्षको उमेरमा नै कुरा उठाएको थिए, अर्को पटक २५ वर्षको हुँदा उठाएको हुँ र अहिलेसम्म उठाउदै आएको छु। म एजेण्डाम प्रस्ट छु ।’
जसले तत्कालीन धौलागिरीमा ओली समूहको जग हाले
प्रकाश पौडेलले तत्कालीन अवस्थामा अनेरास्ववियु भित्र धौलागिरी अञ्चलमा माधव नेपाल समूहको दबदबाको बीचमा केपी ओली समूहको जग हालेका थिए । उनले जनकुरमा महाधिवेशनदेखि यो अभियान प्रभावकारी बनाएका थिए । तत्कालीन धौलागिरीको बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा अनेरास्ववियुको संगठनमा ओली समूहको प्रभावकारिता बढाएका थिए । त्यसभेगमा अनेरास्ववियु बलियो बनाउन अगुवाइ गरेका प्रकाश म्याग्दी बहुमुखी क्याम्पसको २०६९ को स्ववियु सभापतिको उम्मेदवार थिए । तर ओली निकटको भएकै कारण उनी सचिवमा सीमित हुन पुगे । त्यस समय माधवकुमार नेपाल गुटको पेलानामा अनेरास्ववियु रहेको थियो ।
प्रकाशले म्याग्दीमा कालोबाजरीका विरूद्धमा अभियान चलाएर नागरिकलाई न्याय दिएका थिए । उनले कालोबजारीबिरूद्ध अभियान चलाउँदै दोषीहरूलाई प्रशासन मार्फत कारबाहीको दायरामा ल्याएका थिए । त्यसँगै उनले भ्रष्टाचारविरूद्धको अभियानलाई समेत सशस्त्र बनाएका थिए ।
प्रकाशले नै अहिलेको गण्डकी प्रदेशमा अनेरास्ववियुको स्वयंसेवी अभियानलाई उकासेका थिए । उनले स्वयंसेवी अभियान चलाउँदा नै म्याग्दीलाई उत्कृष्ट कमिटीको पुरस्कृत गराएका थिए । प्रकाश तीनै विद्यार्थी नेता हुन जसले माधवकुमार नेपालहरूले २०७८ मा पार्टी विभाजन गरेको समयमा म्याग्दीका कतिपय जिल्लास्तरीय नेताहरू लुकेर बस्दा उनी गाउँगाउँमा पुगेर कार्यकर्ताको पलायन रोक्न काम गरेका थिए । तीनै प्रकाश अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको रूपमा प्रस्तुत भएका छन ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार ०९:५५