२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

भर्नुभयो त ? विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२० जेठ, काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीकाे आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु,प्रभु क्यापिटल, हिमालयन बैंक धार्चे शाखा र प्रभु बैंकको आरुघात शाखाबाट आवेदन दिन सक्नेछन्।

 यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार ०९:४९