ट्रेड टावरको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
१९ जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा २ अर्ब १८ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको १८ लाख २८ हजार ६०९ जनाले २ करोड १८ लाख १ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.६१ गुणा बढी आवेदन हो ।
कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १७:२८













