भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने यातायात व्यवसायीको घोषणा
१८ जेठ, काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएकाे हाे । प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२/२/१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १७:४२