१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

मार्चमा अर्को मार्ट गर्ने घोषणासहित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सकियो (फोटोफिचर)


२९ पुस, काठमाडौँ । नेपालमा पहिलोपटक भएको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ आगामी मार्चमा लुम्बिनीमै गर्ने घोषणासहित सकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण देवकोटाले मार्टको समापन गर्दै मार्चको ९ र १० गते अर्को ट्राभल मार्ट आयोजना गर्ने घोषणा गरे ।

सचिव देवकोटाले स्थान भने पछि छलफलबाट तय हुने बताए । उनले भिजिट नेपाल २०२० लाई सफल बनाउनका निम्ति सरकार निजी क्षेत्रसँग हरेक क्षण मिलेर काम गर्ने बताए । उनले  बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सफल पार्न नाट्टाको नेतृत्वले गरेको मेहनतको मुक्तकण्ठले प्रंशशा गरे ।

रूपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित नेकपाका पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले लुम्बिनीले हरेक समय सकारात्मक सन्देश प्रवाह गर्न चाहेको बताए । उनले लुम्बिनीको विकास र विस्तार समृद्धिको एउटा मुख्य आधार हुने बताए । उनले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट लुम्बिनीमा आयोजना गरेकोमा धन्यवाद दिए । सांसद विश्वकर्माले प्रदेश ५ को सरकारले पनि भ्रमण वर्ष सफल पार्नका निम्ति विशेष अभियाननै चलाउन लागेको भन्दै खुशी व्यक्त गरे ।

मार्टको समापनमै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका निम्ति निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सफल बनाएकोमा नाट्टाको नेतृत्वलाई बधाइ र धन्यवाद दिए । उनले भिजिट नेपाल २०२० सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

भिजिट नेपाल २०२० को तयारी स्वरूप विशेष सन्देश दिने उद्देश्यले आयोजना गरिएको मार्ट पूर्ण रूपमा सफल भएको कार्यान्वयनको जिम्मेवारी लिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले जानकारी दिए । उनले मार्टमा अन्तरक्रियात्मक दुईवटा सत्र समेत सञ्चालन भएको बताए ।

पाण्डेका अनुसार अन्तरक्रियात्मक सत्रमा उफ्ताका उपाध्यक्ष थेटेन गुरूचुन, वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाण्डे, प्रोफेसर आर पन्त, मिचेल तुरूत्ले, प्रोफेसर तिलक आचार्य, बसन्त बिडारी लगायतले बुद्ध, बुद्धिष्ट सर्किट र लुम्बिनीको विकास, सम्भावना र चुनौतिलाई मसिनो ढंगले केलाउने प्रयास गरेका थिए ।

अध्यक्ष पाण्डेले अन्तरर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन अझ त्यसमा पनि बुद्धको जन्मभूमि लुम्बिनको प्रचार र प्रवर्द्धन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रचारमा सहयोग पुगेको बताए ।

नाट्टाका महासचिव रमेश थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन आएपछि लुम्बिनीमा पर्टकको सीधा सम्पर्क स्थापित हुने बताए । नेपालको पर्यटन विकासको एउटा महत्वपूर्ण समस्या एयर कनेकटीभिटी रहेको भन्दै महासचिव थापाले विमानस्थल पूर्ण क्षमतामा सञ्चलन आउँदा लुम्बिनीले थुप्रै अवसरको सदुपयोग गर्न पाउने बताए । उनले मार्टले लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गराउन समेत सहयोग गरेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका विदेशी व्यवसायीले सहभागिता जनाएको मार्टका सदस्यसचिव एवं नाट्टाका उपाध्यक्ष अच्युत गुरागाइँले जानकारी दिए । सदस्य सचिव गुरागाइँले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध सर्किटको पर्यटन प्रवद्र्धन गर्ने विषयमा विभिन्न देशका पर्यटन व्यवसायीहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताए । लुम्बिनीले संसारभरका पर्यटकलाई आकर्षित गर्न सक्ने प्रचूर सम्भावना रहेको भन्दै सहभागीले लुम्बिनीलाई केन्द्रमा राख्दा दिगो पर्यटन विकास हुने बताएको पनि उनले बताए ।

गुरागाइँले कार्यक्रममा पर्यटन लक्षित बिभिन्न कार्यपत्र र नेपालका बौद्ध सर्किटको प्रवद्र्धनका बारेमा छलफल भएको र बिटुबी  कार्यक्रम भएको बताए । उनले मार्टले नेपालमा होटल व्यवस्थापन राम्रो र पर्याप्त छैनन् भनेर विश्व बजारमा परेको गलत प्रभाव मेटाउनसमेत भूमिका खेलेको बताए । उनले मार्टबाट लुम्बिनीसँगै बुद्ध जिवनीमा आधारित अन्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको बताए ।  उनले मार्ट सफल बनाउन सहयोग गर्नेसबैलार्इ धन्यवाद दिए । जनवरी १० देखि १२ सम्म लुम्बिनीमा भएको मार्टमा स्वदेशका पर्यटन व्यवसायीले समेत उत्साहजनक सहभागिता जनाएका थिए ।

(यसअघि मार्चमा हुने मार्टको स्थान पछि तय गर्ने भनिएकोमा अन्यथा हुन गएकाले सच्चाएका छाैँ । यसअघिको समाचार शीर्षकले पाठक वर्गमा पर्न भएको असुविधाप्रति क्षमा चाहन्छाैँ ।–सम्पादक)

   

 

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट उद्घाटनमा यस्तो देखिएको थियो 

 

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार ०९:५७