सगरमाथा विश्वको गौरव हो: मन्त्री पाण्डे
१५ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताउनुभएको छ । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटनमन्त्री पाण्डेले भन्नुभयो,“सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।”
उहाँले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको छ । सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन सिंगो पृथ्वीलाई नै असर गर्छ । त्यसकारण नेपालको समस्या मात्र होइन भन्ने कुरा बुझाउन हामीले विश्वभरका हिमाल र जलवायु बुझेका मानिसहरुलाई बोलाएर छलफल गरेका छौं ।”
सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराउनुभएको छ । सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको र्याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
र्यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधकरणको उल्लेख्य उपस्थिति थियो । यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा समेत माल्यापर्ण गरिएको छ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।
दिवसको अवसरमा आज विहान प्रभातफेरीसहित वसन्तपुरमा औपचारिक क्रार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोहसमितिले ‘वर्ल्ड समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदन–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकणबारे बहस हुनेछ । यससँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार ११:२४