२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

माघ १ गते नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

२८ पुस, काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज पत्रकार सम्मेलन गरी वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो ।

नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बतउनुभयो । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ ।

यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : 16:18