तस्बिरमा हेर्नुहोस्, तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट
९ जेठ, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा शुकबारदेखि तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सुरू भएको छ । शुक्रबार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले मार्टको उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्र काठमाडौँको सोल्टी होटलमा भए पनि मार्टको बाँकी गतिबिधि लुम्बिनीमा पनि हुनेछ ।
नेपालको घरेलु पर्यटन प्रवर्द्धन गर्न नाट्टाले गरेको मार्ट जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । मार्ट संयोजक जिश्वा तुलाधर श्रेष्ठका अनुसार कार्यक्रममा १ सय ५० बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता हुनेछ ।
मार्टमा भारत, चीन, भुटान, म्यानमार, इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका व्यवसायीको सहभागिता रहेको छ । मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु, बौद्धमार्गी, लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी रहेको नाट्टाको सचिव विष्णु पाण्डेले जानकारी दिनुभयो ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले मार्टले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउन सहयोथ पुर्याउने बताउनुभयो । उहाँले नाट्टका पूर्व अध्यक्ष सिएन पाण्डेको नेतृत्वमा सुरू भएको मार्टले व्यापकता पाउँदै गएको बताउनुभयो । सो अवसरमा पाण्डेसहित पूर्व अध्यक्ष समेत रहनुभएको पहिलो मार्टका संयोजक अच्यूत गुरागाईलाई हात उठाउन लगाएर अभिनन्दन गर्नुभयो ।
प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १२:३९