११ असार २०८२, बुधबार | Wed Jun 25 2025

राप्रपा युवा नेता केसी पक्राउ, पत्रकारलाई दुःख दिन खोजेको भन्दै पत्रकार महासंघको आपत्ति

५ जेठ, काठमाडौँ । नेपाल पत्रकार महासंघको एसोशियट प्रदेश र केन्द्रीय कमिटीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक सुजित केसीलाई पक्राउ गरेर पत्रकारलाई दुःख दिन खोजेको भन्दै आपत्ति जनाएको छ ।

प्रदेशमा महासचिव अशेष अधिकारी र केन्द्रीय महासचिव रामप्रसाद दाहालले सोमबार छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गर्दै प्रेस स्वतन्त्रताको चिन्ता प्रकट गर्नुभएको छ ।

प्रदेशका महासचिव अधिकारीले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा केसीले टिप्पणी गरेको र उक्त टिप्पणी डिलिट गरेको उल्लेख गरिएको छ ।

अधिकारीले  फेसबुकमा प्रश्न उठाउदै प्रश्न राखेकै भरमा पत्रकारलाई दुःख दिने नियतले पक्राउ गरिएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । उहाँले विज्ञप्तिमा लेख्नुभएको छ, ‘फेसबुकमा लेखेको स्टाटस समेत डिलिट गरिसकेको अवस्थामा पत्रकार पक्राउ पर्नु भनेको संविधानमै प्रष्ट लेखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको हाम्रो ठहर छ । पत्रकार केसीलाई यथाशीघ्र रिहाई गर्न नेपाल सरकार गृहमन्त्रालय तथा नेपाल प्रहरीलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति अनुरोध गर्दछ ।’

यस्तै दाहाले जारी गर्नुभएको विज्ञप्तिमा केसी आज पक्राउ गरिएको जनाएको छ । तर केसी जेठ २ गते शुक्रबार नै पक्राउ पर्नुभएको हो । उहाँको पक्राउको बारेमा सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट समेत परेर न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले  आइतबार सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरिसकेको छ ।

महासचिव दाहालको नाममा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार सुजित के। सी। लाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।  विधुतीय कारोबार ऐन विपरित पूर्वप्रधानमन्त्रीको बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा राष्ट्रिय समाचार अनलाइनका सम्पादकरप्रकाशक के।सी। लाई आज प्रहरीले पक्राउ गरेको महासंघ एसोसिएट प्रदेश समितिले जनाएको छ । के।सी। एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य हुनुहुन्छ ।’

यस्तै दाहालको विज्ञप्तिमा अघि भनिएको छ, ‘समाचार, विचार र समाचारमूलक सन्देशहरू प्रवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी गरिनु पत्रकारको नैसर्गिक हक हो । त्यसले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास छ । यससम्बन्धी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा रहेको पनि जानकारी गराइन्छ। त्यसलाई बेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनुलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ । महासंघ प्रहरीको यो हस्तक्षेपप्रति गम्भीर चिन्ता प्रकट गर्दै खेद व्यक्त गर्दछ । र, यो घटनाको छानबिन गरी पत्रकार के।सी। लाई यथाशीघ्र रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

वरिष्ठ बृत्तचित्र निर्देशक लव प्याकुरेलले भने राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक केसीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीरसिंहले हिलटन होटल किन्दै छन भन्ने सूचना बाँडेका कारण पक्रिउ गरिएको दाबी गर्नुभएको छ ।

यता प्रहरीको साइबार ब्यूरोले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । शुक्रबार पक्राउ पर्नुभएको केसीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि पाँच दिनको समय पाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार २२:५६