किस्पाङमा ‘वन हेल्थ’ को पाठ: महिलालाई सशक्त बनाउन हेल्दी मिशन
२ जेठ, नुवाकोट । “जब मानव, पशु र प्रकृतिको स्वास्थ्य एकै सूत्रमा गाँसिन्छ, तब मात्रै सम्भव हुन्छ समृद्ध समाज ” यही अवधारणालाई बोक्दै किस्पाङमा ‘वन हेल्थ’ चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जसको मूल लक्ष्य थियो, स्वास्थ्य स्वयंसेविकामार्फत समुदायमा दीगो स्वास्थ्य चेतना फैलाउने रहेको छ ।
किस्पाङ गाउँपालिकामा सञ्चालित कृषि रूपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रमले ५५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै मानव, पशु र वातावरणबीचको स्वास्थ्य सम्बन्धबारे प्रशिक्षण दिएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गणेश वि.क., हेफर इन्टरनेशनलका डा. आयुष अधिकारी, कार्ड्सन नुवाकोटका कार्यकारी निर्देशक पदम उप्रेती र परियोजना संयोजक दीपक न्यौपानेसहित प्राविधिक र सामुदायिक सहजकर्ता टोलीको उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
वन हेल्थले मानिस, जनावर र वातावरणबीचको गहिरो अन्तरसम्बन्धलाई मान्यता दिँदै संक्रामक रोगको रोकथाम, नियन्त्रण र सामूहिक स्वास्थ्य सुरक्षामा जोड दिएको छ । यसले भविष्यका महामारीबाट जोगिने उपायको रूपमा काम गर्ने विश्वास लिइएको छ। “समुदायमै स्वास्थ्य साक्षरताको बीउ छरेर दीगो स्वास्थ्य प्रणालीको आधार तयार पार्ने हाम्रो लक्ष्य छ” स्वयंसेविका गायत्री भट्टले भन्नुभयो ।
स्वयंसेविकाले मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धबारे जानकारी पाएर समुदायमै स्वास्थ्य साक्षरताको सन्देश फैलाउने अठोट गरेका छन्। यस कार्यक्रमले स्थानीय महिला नेतृत्त्वलाई अघि ल्याउनुका साथै समुदायमा ‘वन हेल्थ’ को अवधारणा स्थापित गर्ने प्रयास गरेको छ। किस्पाङको पहाडी गाउँमा स्वास्थ्य, शिक्षा र वातावरणका कुराहरू एउटै छातामुनि ल्याउने यो प्रयास साँच्चिकै उदाहरणीय देखिएको छ।
प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १७:२७