१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस

१ जेठ, काठमाडौं । कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गर्नुभएकाे हाे ।

सुवेदीले समितिको हालसम्म ६४ बैठक र उपसमितिको ५४ बैठक गरी कूल एक सय १८ बैठक सम्पन्न गरी आवश्यक सुझाव, निर्णय र निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार समितिले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्नका लागि सरोकार भएका निकायलाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिएको छ ।

त्यसैगरी समितिले कानुन र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक रायसल्लाह र निर्देशन गरेको प्रतिवेदनमा उल्लेख छ ।

समितिको कार्यक्षेत्रअन्तर्गत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, न्याय परिषद्, न्याय सेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय, मानव अधिकार, अन्तरराष्ट्रिय सन्धिसम्झौता, शान्त्रि प्रक्रिया, मौलिक हकको कार्यान्वयनको अवस्था र सम्बन्धसँग सरोकार भएका विषय र निकाय पर्दछन् ।

मुलुकको शासकीय गतिविधि सञ्चालन गर्ने प्रधानमन्त्री र मानवीय व्यवहारलाई नियमन, निर्देशन, नियन्त्रण कायम गर्नेगरी समाज र राज्यलाई निश्चित मार्गदर्शन गर्न जारी गरिने कानुनी दस्तावेज निर्माणमा समितिको महत्त्वपूर्ण भूमिका रहेको सभापति सुवेदीले बताउनुभयो ।

मानव अधिकारको संरक्षण, सम्वर्द्धन गर्दै मानव अधिकार हननका घटना हुन नदिन समितिले आफ्नो क्षेत्रभित्र पर्ने निकाय र सरोकार भएकासँग छलफल गरी विभिन्न रायसल्लाह र निर्देशन दिने कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

समितिमा प्राप्त विभिन्न चार विधेयकमाथि बृहत् छलफल गरी पारित भएको छ । समितिको कार्यक्षेत्रसँग सम्बन्धित विशिष्टकार्य सम्पादन गर्न स्थलगत अनुगमन र विभिन्न विधेयकको अनुगनम गर्न समितिले विषयगत उपसमित गठन गरेको, बालसुधार गृहको अनुगमन, मानव अधिकारको क्षेत्रमा भएका काम कारबाहीबारे छलफल गरिएको समितिले जनाएको छ ।

समितिका सभापति सुवेदीले संसदीय समितिलाई आगामी दिनमा थप क्रियाशील बनाउन समितिमा रहेका दलबीच समन्वय र सहकार्य हुनुपर्ने, समितिलाई स्रोतसाधन सम्पन्न बनाउने गरी सरकार र समितिबीचको समन्वय र सम्बन्ध सुमधुर बनाउनुपर्ने आवश्यकता रहेको खाँचो औँल्याउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १६:५५