१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा शर्माको सम्भावना

३१ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा मोतिलाल शर्मा भुसालको सम्भावना देखिएको छ । उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्क केसीले तीन महिनाका लागि जम्मेवारी पाउनुभएको छ । उहाँको सयम पनि सकिन लागेकाले नयाँ उपकुलपतिको चर्चा व्यापक बनेको छ । यही सन्दर्भमा त्रिविभित्र भुसालको नाममा बढी नै चर्चा परिचर्चा भैरहेको छ ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठनले पनि अनाैपचारिक रूपमा चलाएको छलफलमा भुसालकै नाम अग्रपंक्तिमा देखिएको छ । उपकुलपतिमा अन्य प्रतिस्पर्धी नै नरहेको भने होइन लबिङमा पूर्व रजिष्ट्रार डिल्लीराम उप्रेती, तीन महिना उपलकुलपतिको जिम्मेवारी प्राप्त गर्नुभएको केसी, प्रा डा रमेश भट्टराई, प्रा डा दीपक अर्याल, प्रा डा उपेन्द्र कोइराला लगायतको नाममा पनि चर्चा चल्ने गरेको छ । यद्यपी भुसालले उपकुलपतिको जिम्मेवारी पाउने सम्भावना बढेर गएको नेपाल प्रगतिशिल प्राध्यापक संगठनका एक पदाधिकारीले दैनिकीलाई जानकारी दिनुभयो ।

देशको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयलाई नेतृत्व गर्ने र यसमा रहेका समस्याहरूलाई समाधान गर्न सक्ने पात्रको खोजी भैरहेको छ । नेपालबाट विद्यार्थीको पलायनदर बढिरहेको र विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको सन्दर्भमा कसले यसको ‘रेस्क्यु’ गर्न सक्दछ भन्ने खालको बहस र खोजी शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पनि चलिरहेको छ । राजनीतिक दल निकट कर्मचारी, प्राध्यापक र विद्यार्थी संगठनहरुलाई साथमा लिएर काम गर्ने प्राज्ञिक क्षमताको अलावा राजनैतिक हिसाबले समेत परिपक्व ब्यक्ति उपकुलपतिमा हुनुपर्ने मागहरू छन ।

dainiki.com

विगतको अभ्यास र उपकुलपतिमा पुगेकाहरूले गरेको कामको मूल्यांकन गर्दा पद माग्नेलाई भन्दा पनि योग्यको खोजी गरेर दिनुपर्ने मत सत्तारूढ पार्टी एमालेभित्र रहेको छ । धेरैले यस्तो अवस्थामा त्रिविको नेतृत्व गर्ने सक्ने व्यक्ति भनेको भुसाल नै रहेको बताउँदै अाएका पनि छन । अध्ययन अनुसन्धानको काममा निरन्तर लागेको, पुस्तक लेखन तथा संगठनिक गतिविधिमा पनि उत्तिकै योगदान दिएको समन्वकारी कुशल प्राध्यापकको रूपमा भुसालले छवी निर्माण गर्नुभएको छ । जसका कारण चर्चाको अग्रपंक्तिमा उहाँ नै हुनुहुन्छ । शर्माले विश्वविद्यालयलाई नजिकबाट बुझेको र सबै राजनैतिक आस्था राख्नेसँग समान ब्यबहार गर्न सक्ने भएकोले उहाँको सम्भावना बढी रहेको बुझिन्छ ।

कर्मचारी, प्राध्यापक, विधार्थी र नेपाल सरकारको चार पक्षीय सहमति र समझदारिमा विश्वविद्यालय चलाउनुपर्ने अवस्था रहेकोले यसको नेतृत्व नैतिकवान, भिजनरी र समन्वयकारी व्यक्तिले मात्र गर्न सक्ने अवस्था रहेको मत प्राध्यापक र कर्मचारीहरुको छ। आंशिक शिक्षक, कर्मचारीका विभिन्न माग र व्यापक सरोकारहरू त्रिविमा जोडिएका छन । विश्वविधालय सेवा आयोगलाई व्यवस्थित र कर्मचारी र शिक्षक नियुक्तमा रहेका प्रावधानलाई समयानुकुल संशोधन गर्नुपर्ने मागहरू पनि छन्। त्यसैगरी पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्नुपर्ने अवस्था छ। आंगिक क्याम्पसहरुको भौतिक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्नुपर्ने अवस्था छ। विश्वविधालयको सम्पत्ति दुरुपयोग हुने र क्याम्पसहरुलाई आर्थिक स्रोत जुटाउन कठिन हुने स्थिति छ। एक हिसाबले भद्रगोल पारामा चलिरहेको विश्वविद्यालयलाई सहि व्यवस्थापन गर्न राजनैतिक स्टेकहोल्डरलाई साथमा लिएर समन्वयकारी भूमिका सहित नेतृत्व गर्नुपर्ने चुनौतिपूर्ण अवस्थामा भागबण्डाबाटै उपकुलपति आउदा पनि कम्तिमा विश्वविद्यालयको मर्म अनुसार सबैलाई साथमा लिएर काम गर्न सक्ने ब्यक्ति आउनु पर्दछ भन्ने मत देखिन्छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १४:२८