भारत लगेर बन्धक बनाइएका चार नेपाली युवतीको उद्दार, बन्धक बनाउने दुई युवा पक्राउ
२६ पुस, वीरगञ्ज । भारतकाे रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाेली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ ।

नेपाली युवतीलाई उद्दार गरी भारतीय प्रहरीले माइती नेपाल वीरगञ्जलाई लिखित कागज गरी सुम्पिएका थियो । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ । काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए । १८ वर्ष मुनिका उनीहरु तीनै जना मोरङका हुन् ।
युवतीहरुको साथमा रहेका ‘प्यारे दाइ’ भनिने राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । होचो कदका उनी पहिला पनि मानव बेचविखन र ओसारपसार गतिविधिमा संलग्न रहेका व्यक्ति भएको बताइएको छ । उनलाई लिन आएका शंकास्पद अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले खुलाएको छैन । युवतीहरुसँगै आर्केष्टामा भेटिएका शंकास्पद दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 11:59







