१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

अब सेवाबाट अवकाश पाएका निजामती कर्मचारीले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने  

२६ पुस, काठमाडौँ । सेवाबाट अवकाश पाएका निजामती कर्मचारीहरुले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने भएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो । यसअघि निजामती कर्मचारीहरुको सेवा अवधि २० वर्ष पूरा भएपछि पेन्सन नै लिनुपर्ने बाध्यकारी व्यवस्था थियो, संघीय निजामती सेवा ऐनको मस्यौदामा त्यसलाई हटाएर स्वेच्छिक बनाइएको बताइएकाे छ ।

संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ६१ मा निवृत्तभरणको व्यवस्था राखिएको छ । दफा ६१ को उपदफा ५ मा लेखिएको छ, ‘कुनै निजामती कर्मचारीले २० वर्ष सेवा अवधि नपुग्दै यस ऐन बमोजिम अनिवार्य अवकाश पाउने भएमा त्यस्तो निजामती कर्मचारीको कुल नोकरी अवधिकै आधारमा उपदफा (१) बमोजिम हुने निवृत्तभरण वा दफा ६० बमोजिम हुने उपदानमध्ये जुन लिन चाहन्छ सोही सुविधा दिइने छ ।

उपदफा १ मा २० वर्ष सेवा वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीलाई मासिक निवृत्तभरण (पेन्सन) आजीवन पाउने उल्लेख छ । यसरी मासिक निवृत्तभरण दिँदा जम्मा सेवा वर्षलाई अन्तिम महिनाको तलबको रकमले गुणा गर्ने र त्यसको योगफललाई ५० ले भाग गर्दा जति अंक आउँछ, त्यति रकम मासिक पेन्सनको रुपमा सरकारले उपलब्ध गराउँछ ।

यसैगरी दफा ६० मा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने पदबाट हटाइएमा उपदान पाउने व्यवस्था छ ।

प्रकाशित मिति : January 10, 2019 at 11:25 am