हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं, हात हालाहाल बढ्न पाएनः प्रधानमन्त्री ओली
२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएपछि रोकिएको बताउनुभएको छ । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद समेत दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौं । उहाँहरूसँग पनि कुरा गर्यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १४:३४