एनएमबि बैंकको जलविद्युत क्षेत्रमा थप लगानी, लाप्चे र चेपे आयोजना अघि बढ्दै
२९ वैशाख, काठमाडौं । दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा पाँचवटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सहमति जनाएका छन् ।उक्त परियोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ भने नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर, एभरेष्ट र डायनामिक हाइड्रो ईनर्जी प्रालि सहभागी हुनेछन् ।
आयोजनाको कुल लागत करिब ७ अर्ब रुपैयाँ रहनेछ, जसमा ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुनेछ । यसैबीच, एनएमबि बैंकले एकल लगानीमा सञ्चालन गर्न लागिएको २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।
आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ भने एनएमबि बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । यी दुवै आयोजनासँग सम्बन्धित ऋण सम्झौता पत्रमा एनएमबि बैंकको तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग, दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता आदान–प्रदान कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र अध्यक्ष मोहन बिक्रम कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सीईओ घिमिरेले एनएमबि बैंकले हाइड्रोपावर परियोजनामा प्राविधिक, वातावरणीय तथा जोखिम व्यवस्थापन पक्षहरूमा गहिरो अध्ययन गरी सुनिश्चित अनुगमन र समाधान प्रक्रिया अपनाउने जानकारी दिए ।
त्यसैगरी, अध्यक्ष मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यो आयोजनासहित ८ वटा जलविद्युत परियोजनाका लागि ऋण लिइरहेको र लाप्चे तामाकोशी आयोजना तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।एनएमबि बैंकले अहिलेसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
प्रकाशित मिति : May 12, 2025 at 10:14 am









