५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धिस्ट ट्राभल मार्टको उद्घाटनमा हट एयर बेलुनबाट पुष्प वृष्टि हुने


२५ पुस, रूपन्देही । बुद्धिस्ट ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटनमा हट एयर बेलुनबाट पुष्प वृष्टि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मार्टमा हट एयर बेलुनबाट पुष्प वृष्टि गर्ने तयारी गरिएको नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन (नाट्टा)का महासचिव रमेश थापाले दैनिकीलाई जानकारी दिए ।

महासचिव थापाका अनुसार बुद्धिस्ट ट्राभल मार्टमा सहभागी हुने पर्यटकले पनि हट एयर बेलुन चढेर लुम्बिनी अवलोकन गर्न पाउने छन । मार्टमा सहभगी हुने पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह, कपिलवस्तुको तिलौराकोट, जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने गरी हट एयर बेलुन उडाउने तयारी गरिएको महासचिव थापाले बताए । उनले लुम्बिनीमा उडाइने हट एयर बेलुन भैरहवा ल्याइसकेको जानकारी दिए । उनले बेलुन उडानका लागि बुकिङ समेत सुरु भइसकेको बताए ।

उनले लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु हुने हट एयर बेलुन उडानका दुई वटा प्याकेज राखिएको भन्दै  छोटो दुरीको १० मिनेटको र लामो दुरीको ३० मिनेटको प्याकेज रहेको बताए । १० मिनेट उडानका लागि दुई हजार प्रतिव्यक्ति र आधा घन्टाका लागि नौ हजार प्रतिव्यक्ति शुल्क तोकिएको छ ।

लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म रुपन्देहीको लुम्बिनीमा हुन लागेको मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले दैनिकीलाई जानकारी दिए । मार्टमा भाग लिन विभिन्न देशका दुई दर्जन सहभागी नेपाल आइसकेका छन् । उनीहरूलाई मंगलबार होटल याक एण्ड यतिमा वेलकम डिनर गराएर आज चितवन पुर्याएको अध्यक्ष पाण्डेले बताए । चितवनमा उनीहरूलाई ल्याण्डमार्क फरेस्ट रिसोर्ट लगायतका विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवद्र्धन हुने अध्यक्ष पाण्डेले बताए । उनले बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने बताए । अध्यक्ष पाण्डेका अनुसार मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल सङ्घका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिसलगायतले बुद्ध पर्यटनको विकासका बारेमा आफ्नो भनाइ राख्ने छन ।

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार २०:४५