यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा दर्ता
२५ पुस, काठमाडौँ । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिवको रुपमा कार्यरत रहेका श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा अवैध रुपमा आर्जन गरेको अख्तियारको ठहर छ । २८ माघ २०३८ देखि सार्वजनिक सेवा प्रवेश गरेका श्रेष्ठले तलवलगायत अन्य स्रोतबाट २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ १६ पैसा आयआर्जन गरेको अख्तियारले जनाएको छ । तर, उक्त अवधिमा श्रेष्ठ र उनको परिवारका सदस्यहरुका नाममा आम्दानीभन्दा बढीको चल अचल सम्पत्ति सिर्जना तथा विभिन्न क्षेत्रमा खर्च भएको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठले सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ ९२ पैसा खर्च गरेको अख्तियारले जनाएको छ । आयको तुलनामा उनले खर्च गरेकोमध्ये १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बराबरको अवैध सम्पत्ति देखिएकाले अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले श्रेष्ठबाट १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बिगो र सोहीअनुसार जरिवाना तथा कैद सजाय माग गरेको छ । श्रेष्ठले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती जमुना तण्डुकार र नवलपरासीको स्वाठी बस्ने भगवती योगको नाममा राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले श्रेष्ठकी श्रीमती जमुना र भगवती योगीविरुद्ध पनि मुद्दा दायर गर्दै उनीहरुका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ ।
प्रकाशित मिति : 18:15







