५ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, यस्तो छ कारण
१९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गर्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । केन्द्रिय बैंकले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारवाही गरेको हो।
राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएकाे छ ।
त्यस्तै, केन्द्रिय बैंकले कुमारी बैंकलाई निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो। राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएकाे छ ।
त्यस्तैगरी, लक्ष्मी सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकको निर्देशन पालन नगरेको भन्दै नसिहत दिइएको छ । बैंकको संस्थापक सेयरधनी बैंकमा कल र चालु खाता सञ्चालन गर्दै आएकोमा चालु खातामा विभिन्न मितिमा ऋणात्मक मौज्दात रहने गरी अप्रत्यक्ष रुपमा ऋण सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, चालु पूँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरुलाई समेत बलुनिङ किस्ता कायम गरेको राष्ट्र बैंकले आरोप लगाएको छ।
यस्तै, लक्ष्मी सनराइज बैंकमा २ प्रतिशत शेयर रहेका एक संस्थापकले राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण लिएको र लक्ष्मी सनराइजले ऋणको अभिलेख पनि नराखेको राष्ट्र बैंकले जनाएको छ। यी सबै नियम विपरीत कार्य गरेकोमा लक्ष्मी सनराइजका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ।
यता, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्न/गराउन नसकेको देखिएकोले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ।
नेपाल बैंकको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६/०८० को बुँदा नं.१ को उपबुँदा नं. ५ मा उल्लेखित व्यवस्था “सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन ।” भन्ने व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को (ग) बमोजिम नगद रु. ५ लाख जरिवाना गरेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
साथै, राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना गरेको छ । बैंकले कृषि, उर्जा र लघु एवं साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि राष्ट्र बैंकले नगद जरिवानासहितको कारबाही गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ११:२१












