१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण

५ वैशाख, झापा । कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“जङ्गली हात्तीले गहुँबाली घाँसका रूपमा खाइदिने भएकाले जोगाउनै मुस्किल पथ्र्यो”, ती दिनको सम्झना गर्दै स्थानीय किसान गणेशले भन्नुभयो, “मकैखेती गर्न थालेदेखि गहुँबालीको तुलनामा उत्पादन पनि धेरै हुनुका साथै जङ्गली हात्तीले समेत कमै मात्रामा नोक्सान पुर्याउने गरेको छ ।”

सिँचाइको सुविधा हुने र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सक्यो भने एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । यो वर्षदेखि कृषि ज्ञान केन्द्र झापाको सहयोगमा शून्य खनजोत कार्यक्रमअन्तर्गत मकैखेती गर्न थालेपछि लागत घटेको उहाँको भनाइ छ ।

अर्जुनधारा नगरपालिका–४ भाङवारी किसान प्रेम आचार्यले गहुँखेती नलगाएको १० वर्ष भयो । हिउँदे खेतीमा गहुँ पाक्ने समयमा दुईवटा खेती गर्न सकिने भएकाले तोरी तथा मकैखेती लगाउन सुरु गरेको उहाँ बताउनुहुन्छ । एउटै याममा दुई खेती गर्न सकिने र राम्रो आम्दानी पनि हुने भएकाले गहुँखेती गर्न छाडेको उहाँका भनाइ थियो ।

झापामा पछिल्ला वर्ष गहुँ उत्पादन हुने जमिनको क्षेत्रफल घट्दै गएको छ । यहाँका किसानले गहुँको विकल्पमा अन्य हिउँदे बाली रोजेपछि गहुँको उत्पादन र क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा चार हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती लगाइएकामा आव २०८०/८१ मा तीन हजार हेक्टर पुगेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मकैखेती लगाएको क्षेत्रफल आव २०८०/८१ मा ४४ हजार ३५० हेक्टर पुगेको छ । गहुँखेतीभन्दा मकै लगायत अन्य खेतीमा फाइदा हुने भएपछि गहुँखेतीप्रति किसानमा विकर्षण देखिएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : April 18, 2025 at 12:03 pm