बालुवाटारले बाँडिरहेको ‘कुर्सी’ सन्देश, फेरि देउवाको सिंगल ‘कुर्सी’ गायब
४ गते, काठमाडौँ । पछिल्लो करिब तीन महिनादेखि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको विषयमा सोही पार्टीको कार्यकर्ताको बीचमा रहेको सरकार परिवर्तन हुने सूचना झुटो सावित गर्न ‘कुर्सी’ मार्फत पनि सन्देश प्रवाह गरिएको छ । मन्त्रीहरूले नै प्रधानमन्त्री भेट्न नपाउने र भेट्नका लागि राति राति बालुवाटारमा गएर लाम बस्नुपर्ने पीडाले अमिलिएका थिए ।

झन बिचौलियाहरूले गठबन्धनमा चिसो पस्यो भनेर हल्ला चलाइदिने र सोहि समयमा सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रभावशाली सदस्य मानिनुभएको कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले केही गर्न नसकेको अभिव्यक्ति दिएपछि सत्ताको स्वादमा रमाइरहेका कांग्रेस र एमालेका धेरैजसो कार्यकर्ता करिब निराश नै बनिसकेका थिए । तर बुधबारबाट सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले निर्णय र कुर्सी मार्फत तत्काल केही नहुने भनेर यसको बलियो सन्देश प्रवाह गरेको छ ।
बैठकपछि कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कुनै समस्या नरहेको जानकारी दिनुभयो । कुर्सी मार्फत सन्देश बाँड्न खप्पिस प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूहले सत्ताको संकट टरेको संकेत कुर्सी मार्फत पनि दियो । सत्ता संकट सुरू भएको शंकासहित केही महिनाअघि बैठकमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका लागि सँगै कुर्सी राखिने गरिएको थियो । करिब तीन वटा बैठकमा त्यसरी कुर्सी व्यवस्थापन गरिएको थियो । बुधबारको सन्देश दिने अर्को बैठकमा भने प्रधानमन्त्रीसँगै राखिएको देउवाको कुर्सी गायब बनाएर पत्नी समेत रहनुभएको परराष्ट्रमन्त्री डा आरजुराणासँगै राखिएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ०७:३०