जेडिएस र जेडिसानको सामाजिक कार्यक्रम, नेपाल जापान सम्बन्ध अझै प्रगाढ बन्दै गएको निष्कर्ष
५ फागुन, काठमाडौँ । जापान सरकारको सहयोगमा संचालित छात्रवृत्ति कार्यक्रम (जेडिएस) अन्तर्गत जेडिएस नेपाल र जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान) ले संयुक्त रूपमा सामाजिक कार्यक्रम गरेका छन । उक्त कार्यक्रममा छात्रवृत्ति कार्यक्रमले नेपाल जापान सम्बन्ध अझै प्रगाढ बन्दै गएको निष्कर्ष निकालिएको छ ।
नेपालमा सन् २०१६ बाट सुरु भएको छात्रवृत्ति कार्यक्रममा पहिलो चरणमा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध रहेकोमा दोश्रो चरणबाट प्रत्येक वर्ष २० जना स्नातकोत्तर सँगसँगै २ जनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध छ। हालसम्म १४२ जना नेपाल सरकारका निजामती कर्मचारीहरुले स्नातकोत्तर तह अध्ययन पूरा गरी नेपालमा फर्किसक्नु भएको छ भने हाल जापानमा ४० जना स्नातकोत्तर र ५ जना विद्यावारिधी गर्दै हुनुहुन्छ।
सोमबार भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले छात्रवृत्ति कार्यक्रमले नेपाल सरकारका निजामती कर्मचारीहरुको क्षमता अभिवृद्दिका साथै वृत्ति विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले नेपाल र जापान बीचको शताव्दीयौं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान) को तर्फबाट जेडिसानका अध्यक्ष तथा गृह सचिव गोकर्णमणि दुवाडीले जापान सरकार र जापनिज दुतावास, जाइका नेपाल तथा जेडिएस नेपालको सहयोग र सहकार्यको लागि हार्दिक अभार व्यक्त गर्नुभयो । उहाँले जापानमा अध्ययन तथा अनुसन्धान गरी फर्किएका नेपाल सरकारको विभिन्न निकाय र तहमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा सुधार र अनुसन्धानका निष्कर्षहरु कार्यान्वयनमा ल्याउन एकाकार प्रयास गर्ने थलोको रुपमा जेडिसान स्थापना भई क्रियाशील रहेको बताउनुभयो।
यस्तै नेपालका लागि जापानका राजदुत माएदा तोरुले उद्घाटन मन्तव्य राख्दै जापान-नेपाल सम्बन्ध जनस्तरसम्म पुर्याई थप प्रगाढ बनाउन जेडिएस छात्रवृत्ति लगायतका कार्यक्रमहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले अगामी दिनमा नेपाल सरकारको नीति निर्माण र कार्यान्वयनमा गुणात्मक प्रभाव थपिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, सहसचिव लगायतका अधिकारीहरु, नेपालका लागि जाइकाका मुख्य प्रतिनिधी मिजुकी माचुजाकी, जापानको हिरोशिमा विश्वविद्यालय, रिचुमेइकान विश्वविद्यालय र केइओ लगायतका विश्वविद्यालयका प्राध्यापकहरु तथा उक्त विश्वविद्यालयहरुमा छात्रवृत्तिमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरि फर्केका नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत करिब १०० जना निजामती कर्मचारीहरु, जापानमा अध्ययन गरेर नेपालमा रहनु भएका पूर्व विध्यार्थीहरुका संगठनहरुका प्रतिनिधीहरु (जान तथा जुआन), नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको जेडिसानका सचिव समेत रहनुभएका नेपाल सरकारका उपसचिव विवेक घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १५:४९