३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

श्यामसुन्दर पुडासैनी स्मृति पत्रकारिता पुरस्कार शर्मालाई, सिलवाललाई सम्मान

८ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले स्वर्गीय उपाध्यक्ष श्यामसुन्दर पुडासैनाीको नाममा स्थापना गरेको श्यामसुन्दर पुडासैनी स्मृति पुरस्कारबाट पत्रकार विष्णु शर्मा पुरस्कृत हुनुभएको छ । बुधबार बागबजारको होटल हार्दिकमा भएकोमा एशोसियट प्रदेशको दोस्रो अधिवेशनको अवसर पारेर उक्त पुरस्कार घोषणा र प्रदान गरिएको प्रेस चौतारीका इन्चार्ज समिर बलामीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले नगद र सम्मानपत्र सहित शर्मालाई सम्मानित गर्नुभयो । पुरस्कारको राशी १५ हजार पाँच सय पचपन्न रूपैयाँ रहेको छ ।

यस्तै शिक्षा पत्रकारितामा विधागत योगदान गरेवापत राससका वरिष्ठ संवाददाता समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक प्रकाश सिलवाललाई सम्मानित गरियो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्यमा विजयी हुनुभएको पवित्रा मुडभरीसहित प्रदेश कमिटीको महासचिव निर्वाचित अशेष अधिकारी, सचिव विक्रम सुनार र कोषाध्यक्ष राजेन्द्र प्रजापतिलाई पनि सम्मानित गरियो ।

यस्तै चौतारी केन्द्रको तर्फबाट पूर्व इन्चार्जहरू तोकिएका सइन्द्र राई, ध्रुव लम्साल र र रामेश्वर कार्कीलाई सम्मान गरिएको थियो भने संस्थापकको रूपमा डिबी खड्कालाई सम्मानित गरिएको थियो ।

बुधबार राति अवेर सम्पन्न अधिवेशनले श्रीहरि थापाको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचित समितिका सदस्य अमिर लामाले जानकारी दिनुभयो । तस्बिरहरूः श्रीधर पाैडेल

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार ०८:५२