८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

वर्षाबिना नै बबरमहल जलमग्न, जिल्ला अदालत काठमाडौँका चार इजलाश अनिश्चितकालका लागि बन्द

३० माघ, काठमाडौँ। खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए । पानीले काठमाडाैँ जिल्ला अदालतमा क्षति पुगेको छ । अदालतको पुशासन शाखाले सूचना मार्फत २६, २७, २८ र २९ नम्बरको इजालाश अनिश्चितकालका लागि बन्द हुने जानकारी दिएको छ । ती इजलाशको काम अर्को सूचना नहुँदासम्म अबरूद्ध हुने अदातले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार २०:२१