८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ‘क्याम्पससभा’ रोक्न संस्थापकको माग

१४ माघ, नुवाकोट । नुवाकोटको पहिलो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ‘क्याम्पससभा’ रोक्न संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक बसन्तलाल श्रेष्ठले माग गर्नुभएको छ । श्रेष्ठले नुवाकोटको प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर क्याम्पससभा रोक्न माग गर्नुभएको छ ।

यद्यपी उहाँको माग अुनसार क्याम्पसभास रोक्न अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ कि छैन भन्ने समेत स्पष्ट कानुनी व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसँग दैनिकीले चासो राख्दा उहाँले पनि आफूहरू अध्ययनकै क्रममा रहेको र सरोकारवालाहरूसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

क्याम्पसमा अनियमितता र भ्रष्टाचार व्यापक रहेको कुरामा दुई मत नभए पनि क्याम्पस प्रशासनको गल्तीमाथि त्रिविले अर्को गल्ती गरिदिँदा पुरानो क्याम्पसको विवाद पनि थप पुरानो बन्दै गएको छ । अहिले यस विषयलाई लिएर नुवाकोटका राजनीतिक पार्टीका नेताहरूले पनि चासो दिन थालेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश आचार्यले सामाजिक सञ्जाल मार्फतनै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘मेरो पिताजी र उहाँका सहकर्मीहरुले खाईनखाई मुट्ठीदान संकलन गर्दै बनाएको-हुर्काएको अनि नुवाकोट-रसुवा-धादिङबासीलाई उच्च शिक्षाको जग बसाल्ने पहिलो क्याम्पस अहिले केही ठेउकेहरुका लागि पार्टीको नाम बेच्दै ठगिखाने-लुटिखाने थलो बनेको रैछ । २०४१/४२ सालमा क्याम्पस खोल्न पैसा र पसिना बगाउने ९ दशक पार गरेका वृद्ध संस्थापक यतिखेर क्याम्पस जोगाउन मुद्दामामिला गर्दै गुहार लगाईरहनुभएको छ । तर, लुटेरा र लुटका साक्षीहरु कानमा तेल हालेर बसेका छन। सत्ता चलाउनेहरु लुटेराका साथमा छन। मिडिया पनि डरपोक छ। तर हामिसङ्ग यहि सामाजिक संजाल छ, यहीँ लेख्छौ र बोल्छौ । रामकृष्ण अधिकारी ज्यू, तपाईं पनि यहि जिल्लाबासी हुनुहुन्छ । सक्नुहुन्छ भने यो लुटको धन्दा रोक्ने प्रयास गर्नुहुन अनुरोध छ। तपाईंका पनि सिमाहरु होलान तर त्योभन्दा माथी विवेक र आत्मा हो भन्ने बुझिदिनुहोला । नभए…. जुनदिन हाम्रो पालो आउँछ । ती लुटेराको बास जेलको कालकोठरिमा हुनेछ । चेतना भया ।’

सोही क्याम्पसको पूर्व विद्यार्थी समेत रहनुभएको नेकपा एमालेका नेता अनुजकुमार श्रेष्ठले पनि आचार्यको मतमा समर्थन जनाउँदै अनुसन्धान र छानविनका लागि माग गर्नुभएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ११:३८