११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

विदेशी मुद्राको सञ्चिति ११.४ प्रतिशतले बढ्यो, १७.६ महिनाको आयात धान्ने

२६ पुस, काठमाडाैँ । चालु आर्थिक वर्षकाे ५ महिनासममा विदेशी मुद्राको सञ्चिती ११.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाे तथ्याङ्कअनुसार असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय बढेर मंसिर मसान्तमा रु.२२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई रु.२० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भई रु.२ खर्ब ४० अर्ब कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : January 10, 2025 at 5:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/