प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३८ पत्रकार, समाजवादी प्रेस संगठन विघटनको संघारमा
२६ पुस, काठमाडौँ । प्रेस चौतारी नेपालले ३८ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।
मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, शन्तराम विडारी, प्रकाश सिलवाल, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी मनोनित हुनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
यस्तै कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही, जीवनाथ शिवाकोटी, रूपेश आचार्य, रमेश ऐडी, अर्जुन क्षेत्री, रामहरि ओझा र सलिम मियाँ हुनुहुन्छ ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशनको खर्च जुटाउनका लागि सचिव विष्णु तारूकेको संयोजकत्वमा अर्थ संकलन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको चौतारीले जनाएको छ ।
बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ । महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।
चार कारबाहीमा
प्रेस चाैतारीले रूद्र सुवेदी, दिनेश थापा, मनुका कुँवर र अनुप तिपारीलाई पाँच वर्षका लागि सदस्यताबाट कारबाही गरेको छ । कारबाहीका परेकाहरू नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चाैतारीको उम्मेदवारका विरूद्धमा प्रयोग भएका पात्रहरू रहेको प्रेस चाैतारीले जनाएको छ । साथै पत्रकार महासंघको निर्वाचनमा संगठनको नीति र निर्णय विपरित उम्मेदवारी दिएका प्रस्ताव र समर्थकहरू समेत एक वर्षका लागि कारबाहीमा परेका छन ।
समाजवादी प्रेस संगठन नै विघटनको संघारमा
संस्थापक उपाध्यक्षद्धय शन्तराम बिडारी र भवानी कार्कीसहितले महासंघको निर्वाचन अगावै प्रेस चाैतारीमा फर्किने निर्णय गरेपछि समाजवादी प्रेस संगठनका अध्यक्ष लगायतका सबैजसो पादधिकारी चाैतारीमा फर्किनका लागि विभिन्न किसिमका वार्ता र छलफलमा जुटेका छन । एमालेका नेताहरू र चाैतारीका नेताहरूसँग समाजवादी प्रेस संगठनका नेताहरू दिनहुँ फर्किने अभियानका लागि वार्तामा रहने गरेको प्रेस चाैतारीले जनाएको छ ।
(नोटः यसअघि राससको समाचारमा ३२ जनाको मात्र नाम उल्लेख भएको भए पनि प्रेस चौतारीको आधारिक सूचनामा पाँच जनाको थप नाम भएकाले उहाँहरूको नामहसित समाचार सच्चयाइएको छ ।)
प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १४:३३