पार्टी प्रवेशको दुई वर्षमै दुई पटक चुनाव लडेका सर्वेन्द्र खनाल पनि एमालेबिहीन
२१ पुस, काठमाडौँ । नेकपा (एमाले) प्रवेश गरेको दुई वर्षमै दुई पटकसम्म संसदीय चुनाव लड्न सूर्य चिन्ह प्राप्त गर्नुभएको नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी परित्याग गर्नुभएको छ । केही महिनाअघि देखि नै एमालेमा नरहेको बताउदै आउनुभएको उहाँले सार्वजनिक रूपमै आफू कुनै पनि पार्टीमा आवद्ध नरहेको घोषणा गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘हजुरहरु मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’
उहाँले २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ ६ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्नुभएको उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित हुनुभएको थियो । त्यस्तै २०८० को वैशाखमा भएको तनहुँ १ को उपनिर्वाचनमा पनि उहाँ एमालेबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । त्यहाँ पनि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेसँग पराजित हुनुभयो ।
निरन्तर दुई वटा संसदीय चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्नका लागि अवसर दिएको भए पनि एमालेका अन्य नेता र कार्यकर्ताले सहयोग नगरेका कारण चुनाव हार्नुपर्नेको निष्कर्ष उहाँको रहेको थियो । त्यसपछि एमालेको गतिबिधिमा उहाँको खासै सहभागिता देखिएको थिएन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नै सरकारको नेतृत्वमा पुगेपछि उहाँले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको रूपमा काम गर्न पाउने अपेक्षा गर्नुभएको थियो । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेको र आफ्नो अनुभव राजनीतिक रूपमा सरकारमा सहभागी भएर उपयोग गर्न चाहनुभएको थियो । यद्यपी यो पटक प्रधानमन्त्री ओलीले सचिवालय चुस्त बनाउने भन्दै मुख्य सल्लाहकार, आर्थिक सल्लाहकार र जनसम्पर्क सल्लाहकारमात्रै नियुक्त गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले ‘आई लभ यू केपी बा’ र ‘वी लभ यू केपी बा’को नारा घन्किरहेको समयमा एमाले प्रवेश गर्नुभएको खनाल ओलीले ती नाराको खडेरी व्यहोरिरहेको समयमै किन पार्टी छाड्ने निष्कर्षमा पुग्नुभयो भनेर एमालेभित्र व्यापक चर्चा सुरू भएको छ ।
खनाल २०७९ असोज ६ मा पार्टी मुख्यालयमा भएको एक भव्य समारोहमा एमाले प्रवेश गर्नुभएको थियो । खनालले पार्टी प्रवेश गर्दै तत्कालीन समयमा एमाले बन्न पाउँदा हर्षविभोर भएको बताउनुभएको थियो । उहाँले त्यतिखेर भन्नुभएको थियो ‘एमालेमा प्रवेश गर्न पाउँदा म हर्षविभोर भएको छु । आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु।’
खनालले एमालेमा रहँदा चुनाव लडेर सांसद र मन्त्री हुने सपना पूरा गर्न नसके पनि जसपाका संसद सुरेन्द्र यादवको अपहरणमा तत्कालीन नेकपा सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठलाई साथ दिएको गम्भीर आरोप भने सधैँका लागि प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १०:१५