नुवाकोटे पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन
२० पुस, नुवाकोट । नुवाकोट स्थायी घरभै काठमाडौँमा रहेर पत्रकारितामा क्रियाशिल रहनुभएको श्यामसुन्दर पुडासैनीको ३३ वर्षको अल्पायुमा निधन भएको छ । शुक्रबार राति १०ः३० बजेतिर उहाँको चाबहिलको हेल्पिङ ह्यण्डस् अस्पतालमा निधन भएको हो।
नेपाल भ्यूजको उपसम्पादक रहनुभएको पुडासैनी कार्यालयबाट कपनमा रहेको कोठामा फर्किनुभएको केहीबेरमै कोठामै ढलेपछि छिमेकीले ट्याक्सी बोलाएर अस्पताल पुर्याउनुभएको थियो । यद्यपी चिकित्सले पुडासैनीको मृत्युको घोषणा गरेका थिए । उहाँलाई ह्दयघात भएको अनुमान गरिएको छ ।

नेपाल प्रहरी अस्पतालमा पछिल्लो दुई सातादेखि उपचार गराउँदै आउनुभएको पुडासैनीले मुटु रोगको औषधि समेत सेवन गरिरहनुभएको थियो । चिकित्सकले अस्पताल नै भर्ना हुन सुझाव दिएको भए पनि पुडासैनी दिनहुँ पत्रकारितामै हुनुहुन्थ्यो । निधनको केही घण्टा अघि पनि समाचारको काम सकेर उहाँ फर्किनुभएको थियो ।
तथ्यमा रहेर पत्रकारिता गर्ने पुडासैनीको विशेषता थियो । उहाँले माउन्टेन टेलभिजन, प्राइमटाम्स टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतको सञ्चार माध्यमामा काम गर्नुभयो ।
प्रेस चौतारी नेपालको एशोसियट प्रदेशको उपाध्यक्ष रहनुभएको उहाँ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ को चाँपखेतको स्थायी बासिन्दा हुनुहुन्थ्यो । पुडासैनीले नुवाकोटकै पहिलो रेडियो नुवाकोट एफएमबाट पत्रकारिताको सुरूवात गर्नुभएको थियो । पुडासैनीको अन्त्यष्टि नुवाकोटको देविघाटमा आजै गरिने परिवारले जनाएको छ ।
प्रकाशित मिति : 06:45









