जनवरी १ मा साँझ एडिलेडमा टोपी दिवसको सन्दर्भमा पदयात्रा तथा डाक्टरहरुको सम्मान
एडिलेड । प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाले ईस्वी संवतको नयाँ बर्ष २०२५ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा पदयात्रा तथा सम्मान आयोजना गर्ने भएको छ ।
मञ्चका अध्यक्ष युवराज पहाडीले स्थानिय जोन मिलर रिजर्भबाट पदयात्रा शुरु गरेर एडिलेडको मुख्य बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन गरिने बताए । जनवरी १ साझ ५.३० वजे पद यात्रा शुरु हुने पहाडीले जानकारी दिए । उनले पदयात्रा पछाडी आयोजित कार्यक्रममा बिद्यावारिधी (पिएचडी) गरेर साउथ अष्ट्रेलियालाई कर्म थलो बनाएका नेपालीमुलका व्यक्तिहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको बताए । उनले टोपी नेपाल र नेपालको पहिचान भएकाले जनवरी १ दिन एडिलेडको मुख्य पर्यटकीय स्थलमा टोपी लगाएर पदयात्रा गरिन लागेको समेत बताए ।
कार्यक्रम संयोजक आर के शर्माले टोपी दिवसको पदयात्रा मार्फत नेपाललाई चिनाउने र नेपालको पर्यटन उधोगको विकासका लागि प्रचारमा सघाउने मुख्य उद्देश्य रहेको बताए ।
उनले यस बर्ष विद्यावारिधि उपाधी प्राप्त व्यक्तित्वहरुको सम्मानले नेपाली समुदायमा थप उर्जा दिने विश्वास लिएको बताए । उनले कार्यक्रममा अष्ट्रेलियाको भ्रमणमा रहनु भएका गायक तथा संगितकार सत्यराज आचार्य र स्वरुपराज आचार्य पनि सहभागी हुनुहुने जानकारी समेत दिएका छन् ।
यसैगरी कार्यक्रमका सहसंयोजक विकास चापागाईले अष्ट्रेलियमा हुर्केको नयाँ पुस्तालाई नेपालको सांस्कृतिक पहिचान वारेमा साक्षात्कार गराउने पनि आफ्नो उद्देश्य रहेको वताए ।
सहसंयोजक चापागाईले यसका लागि एडिलेडवासी नेपालीहरुलाई पदयात्रामा सहभागी हुदा संभव हुने उमेर समुहका बालबालिकाहरुलाई पनि सहभागी गराउन अनुरोध गरिएको बताए । उनले सांस्कृतिक विविधताले भरिएको नेपाली समाजका सदस्यहरुलाई संभव हुनेहरुले आफ्नो मौलिक राष्ट्रिय पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
प्रकाशित मिति : १५ पुष २०८१, सोमबार ०२:३६