१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

१२ पुस, काठमाडौँ । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो ।

महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागर शर्माले बताएका छन्। पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू हुनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहररूको जमघट हुने महासचिव बिष्णु प्रसाद पौडेलले बताए । उनले भने ‘प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’

प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत महत्वपूर्ण सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबिच आपसी सहकार्यकाे वातावरण बनाउन सहयोग पुग्ने अध्यक्ष शर्माले बताएका छन् । महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं अध्यक्ष शर्माले बताए ।

‘महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकाय, सङ्घ संस्था र व्यावसायिक प्रतिष्ठानहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्ने विश्वास लिएका छौं। महोत्सवमा नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बिच छलफल, बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ । त्यस्तै महासङका उपमहासचिव अर्जुन आचार्य ले प्रर्दशनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका हजारौ व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै दुइ दर्जन भन्द बढी देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागती जनाउने छन भने उक्त प्रदर्शनि देशकै नमुना प्रर्दसनी हुने दाबी गरे।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १५:२८