१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौँ: मुख्यमन्त्री आचार्य

९ पुस, लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । “प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।”

कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताउनुभयो ।

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउनेगरी कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्वबजारमा पुर्याउने, वार्षिक रु १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : December 24, 2024 at 10:53 am