८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको ४७ वर्षको उमेरमा निधन

८ पुस, काठमाडौँ । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको ४७ वर्षको उमेरमा निधन भएको छ । शक्ति समूहकी संस्थापक रहनुभएको दनुवारको सोमबार बिहान निधन भएको पति नृप दनुवारले जानकारी दिनुभयो ।

बिहान ५ बजे अचेत अवस्थामा भेटेपछि अस्पताल पुर्याइएको उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए । पति र एक छोरी रहेकी दनुवार मावनबेचबिखन विरुद्धको अभियानमा संसारमै कहलाउनुभएको थियो ।

आफैँ बेचविखनमा परेर मानव बेचबिखनविरुद्धको अभियानमा लाग्नुभएको उहाँको अभियानले हजारौँ नेपाली चेली बेचिनबाट जोगिएका थिए भने सयौँले उद्धार र आश्रय पाएका थिए । सुनिता पछिल्लो समय सुनिता फाउण्डेसनको नाममा सामाजिक काममा समेत लाग्नुभएको थियो ।

लाउलाउ खाउँखाउँ भन्ने उमेरमा सुनिता आफन्तबाट बेचिन विवश हुनुभएको थियो । सानोमा बेचिएपछि सुनितालाई परिवारले संरक्षण दियो । तर, आमाबुवाको समीपमा पुगेर पनि सुनिता दोस्रो पल्ट फेरि दलालको फन्दामा पर्नुभयो ।बाबुआमासँगै बसेका बेला सन् १९९६ मा दलालले उहाँलाई बेहोस बनाएर बम्बईको कोठीमा पुर्‍याए। सुनिताले त्यस बखत पाँच महिना बम्बइको कोठीमा बिताउनुभयो ।

भारतको कोठीमा उमेर नपुगेका नाबालिकाहरूको उपयोग भएको विषय सञ्चारमध्यम मार्फत विश्वभर फैलिएपछि त्यहाँको सरकारले छापा मारेर सुनितासहित दुइसय बढी किशोरीको उद्धार गरेको थियो । त्यसपछि उहाँसहित १२ जना नेपाली चेली नेपाल फर्किनु भएको थियो । ओरेक नेपालले उहाँहरूको संरक्षण र उत्प्रेरणाको काम गरेको थियो ।

पछि शक्ति समूहको स्थापना गरेर सुनिता आफैँ मानव बेचविखनविरूद्धको अभियानमा सक्रिय हुनुभयो । त्यसपछि उहाँले करिब २ हजार बढी बेचिएका नेपाली चेलीको उद्धार गर्नुभयो । र उद्धार गरिएकाहरूलाई शीपमुलक काममा लगाएर बाच्ने आधार दिनुभयो ।

सुनिताले चार वटा त अन्तर्राष्ट्रिय अवार्ड नै जित्नुभएको छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा अमेरिकाको ‘हिरो’ अवार्ड प्राप्त गर्नुभयो । सुनिता विगत २५ वर्षदेखि मानव बेचबिखनविरूद्धको अभियानमा निरन्तर लाग्नुभयो ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार ०९:२५