७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

सिक्लेस-कपुचे-कोरी-क्होलासोँथर-कर्पुडाँडा-याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

६ पुस,  गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनःपोखरा जोडिने गरी उक्त खण्डको पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यसअघि खोज एवं अनुसन्धान गरिएको गुरुङ सम्पदा पदमार्गअन्तर्गत यस खण्डमा आजदेखि पुस १३ गतेसम्म प्रवर्द्धन गर्न लागिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुुभयो । “यस आर्थिक वर्षमा विभिन्न तीन चरणमा पदमार्गअन्तर्गका तीन वटा रुटको प्रवर्द्धन गर्ने योजनाअन्तर्गत पहिलो चरणमा यस खण्डको प्रवर्द्धन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मर्स्याङ्दी गाउँपालिकाबाट घनपोखरा–मैदु–थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंङडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवर्द्धन गरिने योजना छ ।”

सडक सञ्जालको विस्तारसँगै पर्यटकीय पदमार्ग हराउने र छोटिनेक्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मर्स्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा यस पदमार्गको स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रुपमा घोषणा गरिएको जनाउँदै उहाँले अब यस मार्गलाई प्रवर्द्धन गर्न थालिएको जानकारी दिनुभयो ।

प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्गका ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवर्द्धन गर्नुपर्ने सङ्घले जोड दिएको उहाँले बताउनुभयो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले आजदेखि सुरु हुने प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन व्यवसायी, पथप्रदर्शक, सञ्चारकर्मीसहित ४५ जना सहभागी बन्दैछन् ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकाले रु तीनरतीन लाख र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गुरुङ पर्यटन व्यवसायी सङ्घले रु दुईरदुई लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु ९गुरुङ० का पुर्खाहरू अहिलेका बस्तीमा फैलिएको बताउँदै उहाँले भन्नुभयो, “गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ ।”

क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताउँदै उहाँले यस पदमार्गअन्तर्गत कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने जानकारी दिनुभयो ।

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरिएको बताउँदै उहाँले यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउनसक्ने बताउनुुभयो ।

प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु महत्वपूर्ण विशिष्टता हो ।

सिक्लेसबाट कपुुचे, कोरी हुँदै क्होलासोँथरसम्म पुग्ने यो पदमार्ग आफैँमा धेरै सम्भावना बोकेको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुुरुङले बताउनुुभयो । पदमार्गअन्तर्गतको कपुचे हिमताल विश्वकै कम उचाइको हिमताल रहेको जनाउँदै उहाँले यसको उचाई दुई हजार चार सय ५० मिटर रहेको जानकारी दिनुभयो ।

पदमार्गअन्तर्गतकै कोरी अक्षांश र देशान्तर अनुसार नेपालको मध्यविन्दुुका रुपमा रहेको उल्लेख गर्दै उहाँले क्होलासोँथर गुरुङ समूदायको महत्वपूर्ण पैत्रिक थलोका रुपमा प्रसिद्ध रहेको बताउनुभयो ।

यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधिजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गी यहाँको विशष्टिता हुन् ।

यस पदमार्गमा जटामसी, सतुवा, पाँचऔँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।

यस पदमार्गको प्रवर्द्धनले यहाँको पर्यटकीय महत्वलाई उजागर गर्ने बताउँदै वडाध्यक्ष गुरुङले यो पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्प बन्ने बताउनुभयो ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १२:५३