६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु

६ पुस, तनहुँ । मादी–मस्र्याङदी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू गरिएको छ ।

सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले रू २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो ।

उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्नेगरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सम्पर्कमा आई तुरून्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । ‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती–गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ”, कार्कीले भन्नुभयो, “अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।”

मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती–गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ ।

निर्माण कम्पनीको लापर्वाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । मादी–मस्र्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट–टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १०:१६