१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

मुग्लिन–नौबिसे सडक एक सातासम्म दिउँसो आंशिक बन्द हुने

५ पुस, चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ः०० देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उहाँका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छभने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ११:३४