२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

सडकको भ्वाङ टालिएपछि पानीले सडक पखालेर काटियो रिवन

२७ मंसिर, काठमाडाैँ । टुकुचा खोलाले कमलादीको सडमा पारेको भ्वाङ चार महिनापछि टालिएको छ । भ्वाङ टालिएको सडक माथि रिवन काटेर बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उद्घाटन गर्नुभएको छ ।

देशको राजधानीमै सडमा परेको एउटा भ्वाङ टाल्न चार महिना पूरा लागेको मन्त्रालयले बिहीबार बिहान १० जना उपस्थित भएर सडकमै रिबन काटेको हो । साउन २३ मा बाढीले पारेको भ्वाङ टालेर मंसिर २७ गतेदेखि सवारी सञ्चालन सुरू गरिएको छ । सवारी सञ्चालन अघि मन्त्रालय सचिवले रिवन काट्ने भएपछि बिहीबार बिहान पुनर्निर्माण गरिएको सडक पखालिएको थियो ।

साउन २५ मा आएको बाढीले सडकमा भ्वाङ परेको थियो । काठमाडौँ महानगरपालिका र संघीय सरकारको विवादका कारण भ्वाङ परेर पनि साढे दुई महिना बार लगाएर मात्र राखिएको सडक त्यसपछि ४९ लाख रुपैयाँमा ठेक्का लगाइ कात्तिक २ बाट निर्माण थालिएको थियो । सडकले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २८ लाइ जोडेको छ ।

४.८४ मी.लामो र १२ मिटर चौडा उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौको व्यस्ता कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १०:३७