१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

१८ मङ्सिर, ललितपुर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गर्नुभएको छ ।

सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा यहाँ आयोजना गरेको चौथो ललाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो ।

“हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं”, मन्त्री पाण्डेले भन्नुभयो ।

विद्यालयको कक्षाकोठामा सिकिरहेका उहाँले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराउनुभयो । “विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ”, उहाँले भन्नुभयो ।

मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिनुभयो ।

रबिन्द्रनाथ टैगोर, बालकृष्ण सम, विपी कोइरालालगायतले सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढ्नुभएको उहाँको भनाइ थियो । उहाँले नाट्य क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले आफूलाई परिस्कृत गर्दै अगाडि बढाउनुपर्ने समेत बताउनुभयो ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको उल्लेख गर्नुभयो । उहाँले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल, भारत, बङ्गालादेश, श्रीलङ्का, जर्मनी, स्टोनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीले चार दिनमा १९ वटा नाटकका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्चमाध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 3, 2024 at 3:14 pm