१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल

१८ मङ्सिर, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरुको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधानले अपाङ्गता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ । यसमा उनीहरुको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई समेट्नुपर्छ ।”

जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग हुनुभएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : December 3, 2024 at 1:15 pm