आगलागीबाट एक करोड बढीको क्षति
१७ मङ्सिर, महोत्तरी। विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।
रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १४:४८