२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

प्रयोगविहीन बन्यो हुप्सेकोटको वायु ऊर्जा केन्द्र

१६ मङ्सिर, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको वायु ऊर्जा मर्मत सम्भार अभावमा प्रयोगविहीन बनेको छ ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा धौवादी डाँडास्थित रुद्रपुरमा नमूना योजनाका रूपमा विसं २०६८ मा निर्मित वायु ऊर्जा केन्द्र हाल प्रयोगविहीन भएको हो । हावाबाट पङ्खालाई घुमाएर ‘टर्वाइन’को माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि बन्द भएको हो । ऊर्जा केन्द्रको अन्य पाटपूर्जा पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

दुई करोड बढी लागतमा निर्माण गरिएको उक्त परियोजनाबाट हावाका माध्यमले १० किलोवाट र सौर्य ऊर्जाबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । उक्त वायु ऊर्जा हाल पूर्ण रूपमा बन्द भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताउनुभयो । “निर्माण सम्पन्न भएपछि एसियाली विकास बैंकले ऊर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”,वडा अध्यक्ष मगरले भन्नुभयो ।

वायु ऊर्जा केन्द्र निर्माण पश्चात् स्थानीय समूहलाई रेखदेखका लागि जिम्मा दिए पनि मर्मत सम्भार कुन निकायबाट गर्ने भन्ने स्पष्ट नहुँदा करोडौँको लगानी अलपत्र झैँ बनेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

विगत १० वर्ष अगाडिदेखि नै वायु ऊर्जा केन्द्र बन्द रहेकाले त्यसको मर्मतका लागि गाउँपालिकाले पटक–पटक पहल गरे पनि कतै सुनुवाइ नभएको अध्यक्ष पाण्डेको गुनासो छ । “मर्मतका लागि धेरै बजेट आवश्यक हुने प्रारम्भिक अनुमान रहेकाले प्राविधिक अध्ययनका लागि वैकल्पिक ऊर्जा केन्द्रमा गाउँपालिकाले पत्राचार गरिएको छ, पटक–पटक भेटेर पनि भनियो”, उहाँले भन्नुभयो, “प्राविधिक टोली पठाउँछाैँ भन्ने उत्तर आउँछ तर कुनै टोली आएको छैन ।”

वायु ऊर्जा केन्द्र मर्मत गर्न स्थानीय सरकारको बजेटले मात्र सम्भव नहुने भएकाले केन्द्र सरकार समक्ष पहलको आग्रह गरिए पनि सुनुवाइ नभएको गाउँपालिकाको भनाइ छ । केही वर्ष क्षमता अनुसार विद्युत् उत्पादन भएकाले स्थानीयले चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाएका थिए ।

वायु ऊर्जा बन्द भएपछि सौर्य ऊर्जाको भरपर्नु परेको थियो । गत वर्षदेखि यहाँ राष्ट्रिय प्रसारण लाइन पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाको रूपमा स्थापना गरिएको वायु ऊर्जा केन्द्र प्रयोगविहीन बन्नु दुखद भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

हावाबाट बिजुली निकाल्ने क्षेत्रका रूपमा परिचित भएको धौवादी क्षेत्र पर्यटकीय केन्द्रका रूपमासमेत विकास भएको थियो । यहाँको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिने र त्यसको अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो ।

वायु ऊर्जा केन्द्रको मर्मत गरी हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना मगर बताउनुहुन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १५:२३